काठमाडौं : अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । उनी साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका थिए ।
उनको मृत्युको आधिकारिक कारण भने खुलेको छैन । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।
उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।



