काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका हुन्।
बुधबार ११ बजेका लागी बोलाइएको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ । संविधान विश्वासको मत लिन मुख्यमन्त्रीलाई संविधानले नै ३० दिनको समयसीमा दिएको छ । तर, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नियुक्तिको पाँचौ दिन नै बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । सरकार गठनको अन्तिम विकल्प अर्थात संविधानको धारा १६८ उपधारा ५ अनुसार कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्ति भएका थिए ।
सरकार गठनको क्रममा आफ्नै पार्टी तथा केन्द्रिय सत्तारुढ गठबन्धनमा विद्रोह गरेका कार्कीलाई सत्तारुढ गठबन्धनले विश्वासको मत भने दिने भएको छ । केन्द्रीय सत्ता गठबन्धन टिकाउन काङ्ग्रेस इतर समुहका शेखर कोइरालाले समेत सहमती जनाएपछि सत्ता गठबन्धन कार्कीलाई मुख्यमन्त्री मानेर अघि बढ्न्व भएको हो ।
एमालेसहित सत्ता गठबन्धन समेत कार्की नेतृत्वको सरकारप्रती सकारात्मक भएपछि मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत सजिलै पाउने देखिन्छ । राप्रपाले मात्र तत्काल तटस्थ बस्ने निर्णय गरेको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । ३९ जना सांसद रहेको एमाले, २९ मत भएको काँग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार देखिन्छन् ।
मतदानसम्म यही राजनीतिक अवस्था अवस्था रहेमा रहेमा राप्रपाको ६ सिट संख्या र उपसभामुखको १ संख्या बाहेक मत ल्याउने देखिन्छ । गठबन्धनमै रहेको जसपाले के गर्ने टुंगो गरिसकेको छैन।



