एजेन्सी । चाइनिज कम्पनीको सर्वाधिक डाउनलोड गरिएको अडियो भिडियो सामाजिक सञ्जाल टिकटकलाई ब्यान गर्न झण्डै आधा अमेरिकन सहमत रहेको पाइएको छ ।
रोयटर्सले एक अन्तराष्ट्रिय सर्वेक्षण संस्थासँग मिलेर हालै गरेको एउटा सर्वेक्षणले ४७ प्रतिशत अमेरिकन टिकटक ब्यान गर्ने पक्षमा रहेको देखिएको हो । अमेरिका र चीनबीचको चिसोपना, अमेरिकी सुरक्षा प्रणालीलाई पर्नसक्ने क्षति र अमेरिकनहरुको वैयक्तिक विवरण चुहावट हुनसक्ने लगायत पक्षहरुबाट सर्वेक्षण गरिएको थियो । जसमा ३६ प्रतिशत सहभागीले टिकटक ब्यानको विपक्षमा मत जाहेर गरेका थिए भने १७ प्रतिशतले थाहा नभएको प्रतिक्रिया दिएका थिए ।
सर्वेक्षणमा अमेरिकाको रिपब्लिकन र डेमोक्रेट्स दुवै विचारका मान्छेलाई सहभागी गराइएको थियो । जसमा ५८ प्रतिशत रिपब्लिकनले ब्यानको पक्षमा मत जाहेर गरेका थिए भने ४७ प्रतिशत डेमोक्रेट्सपनि चिनियाँ कम्पनीको एप टिकटक ब्यान गर्ने पक्षमा देखिएका छन् ।
उक्त सर्वेक्षणमा १ हजार ५ जना वयस्क सहभागी भएका थिए । जसमध्ये ३ सय ४३ जना डेमोक्रेट्स र ३ सय ४६ जना रिपब्लिकन पार्टीका समर्थक सहभागी भएका थिए ।
गत मार्चमा अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशनका निर्देशक क्रिस्टोफर वेरीले टिकटकले दशौं लाख अमेरिकी प्रयोगकर्ताको डिभाइसमा नियन्त्रण गरेको र अमेरिकी नागरिकलाई विभाजित गराउन भूमिका खेलेको बताएका थिए । त्यसयता टिकटकलाई अमेरिका चिनसम्बन्धमा जोडेर र अमेरिकाको सुरक्षासँग जोडेर हुने चर्चा ह्वात्तै बढेको छ ।
अमेरिकी संसदमा समेत यस विषयले प्रवेश पाइसकेको छ । यता टिकटकले भने प्रयोगकर्ताको गोपनियता र उक्त देशको राष्ट्रिय सुरक्षाका सम्बन्धमा आफुहरु गम्भीर रहेको र कुनै त्रुटी नहुने बताइरहेको छ । दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीचको सम्बन्ध दशककै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेका बेला अमेरिकामा चलेको टिकटक व्यानको बहसलाई महत्वका साथ हेरिएको छ ।



