झारखण्ड : भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) का अधिकारीहरूले राजधानी राँचीस्थित निवासमै दिनभर बयान लिएर गएराति उनलाई नियन्त्रणमा लिएका हुन् ।
मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । राँचीमा रहेको भारतीय सेना मातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्रीको संलग्नता रहेको आरोप छ। विपक्षी भारतीय जनता पार्टीले उक्त मुद्दामा मुख्यमन्त्री सोरेनमाथि कारबाहीको माग गर्दै आएको थियो ।
यो विषयमा सोरेनले धेरै दिनदेखि ईडीलाई बयान दिन अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो । ईडीका अधिकारीले त्यहाँबाट ३६ लाख नगद र एउटा बीएमडब्लू कार नियन्त्रणमा लिएको थियो । सरकारमातहतको निकाय ईडीले सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्छ ।
ईडीले पक्राउ गरेको औपचारिक जानकारीअघि नै सोरेनले राज्यपालकहाँ पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनी झारखण्ड मुक्ति मोर्चा पार्टीबाट सोरेन मुख्यमन्त्री भएका हुन् । उनी आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्छन् ।



