काठमाडौं : नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवाप्रदायक कम्पनीको नेटवर्कबाट अझै टिकटक चलिरहे खबर गर्न अनुरोध गरेको छ । शनिवार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको पहुँच दिने सेवाप्रदायकबारे खबर गर्न सेवाग्राहीलाई अनुरोध गरेको हो ।
सरकारले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटककाे माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेबमोजिम उक्त निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवाप्रदायक र मोबाइल सेवाप्रदायकलाई निर्देशन दिइसकिएको प्राधिकरणले जनाएको छ ।
यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ ।
प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे/नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ ।




