डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अपेक्षाअनुसार विकास नभएको बताएका छन् । मंगलबार राप्रपा जिल्ला कार्य समितिले सदरमुकामको बसपार्कमा आयोजना गरेको आमसभामा बोल्दै उनले डडेल्धुरामा आफूले सोचेअनुसारको विकास नभएको बताएका हुन् ।
उनले पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाप्रति व्यंग गर्दै सदरमुकामबारे प्रश्न गरे, ‘डडेल्धुराको सदरमुकाम यही नै हो ? कि अर्काे सदरमुकाम छ ?’ । अध्यक्ष लिङ्देनले डडेल्धुराका जनताको मत र मन परिवर्तन भए डडेल्धुराको मात्र नभएर देशकै मुहार परिवर्तन हुने बताएका छन् ।
‘राजसंस्था, हिन्दु राष्ट्र स्थापना एवम् शुसासनको प्रत्याभूति आजको आवश्यकता’ भन्ने मुल नाराका उक्त आमसभा सम्पन्न भएको छ। अध्यक्ष लिङ्गदेन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा सुदूरपश्चिम प्रदेश प्रदेश अध्यक्ष धर्मराज जोशी विशिष्ठ अतिथिको थिए ।
आमसभा जिल्ला कार्य समिति अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।



