काठमाडौं : न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो ।
३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो ।
भारतको जितमा मोहम्मद शमीले सर्वाधिक सात विकेट लिए । जसपि्रत बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान १/१ विकेट लिए । मोहम्मद समीले टप अर्डरका ब्याटर ड्वेन कोनभे, रचिन रविन्द्र, केल विलिम्सन, डिरेल मिचेल र टम ल्याथम लगायतलाई आउट गरेका थिए ।
यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ११७ र श्रेयस ऐयरले १०५ रन बनाए । शुभमन गिलले ८० र केएल राहुल ३९ रनमा नटआउट रहे ।
कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए ।
अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।



