काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा घरबास गुमाएका पीडितलाई सरकारले अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। पीडित परिवारलाई अस्थायी आवासका लागि जस्तापाता खरिदलगायत निर्माण सामग्रीका लागि राहत दिने सरकारको तयारी छ।
अघिल्लो हप्ता शुक्रवार मध्यराति गएको भूकम्पमा पूर्ण र आंशिक गरी ६२ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ। क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ। जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन नसकेको गुनासो आइरहेको छ।



