काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हेमजंग गुरुङले पार्टीले गर्न लागेको आन्दोलनका लागि तयार रहन नेता कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेका छन् ।
फागुन ९ गते बृहत प्रदर्शनसहित सरकारलाई मागपत्र बुझाउने कार्यक्रमको तयारीका सन्दर्भमा पार्टीको काठमाडौं क्षेत्र नं ६ ले आयोजना गरेको तयारी बैठकमा बोल्दै उपाध्यक्ष गुरुङले ९ गतेपछि सुरु हुने आन्दोलन सशक्त हुने बताए । आन्दोलनका लागि देशभरबाट राजधानीमा आउने पार्टीका नेता कार्यकर्ता र शुभेच्छुक आममानिसलाई राजधानीमा बस्ने राप्रपा शुभेच्छुकले सेल्टर दिनुपर्ने गुरुङको भनाइ छ ।
व्यवस्था बदल्ने संकल्प सहित राप्रपाले आन्दोलनको शंखघोष गरेको भन्दै उपाध्यक्ष गुरुङले सबैले राष्ट्रवादी शक्ति र सनातनीहरु एकजुट हुने बेला भएको बताए । कार्यक्रममा पार्टीका पूर्व महामन्त्री राजाराम श्रेष्ठले राप्रपाले अब गर्ने आन्दोलन निर्णायक आन्दोलन भएको भन्दै त्यसका लागि अधिकतम त्यागको भावना लिएर आन्दोलनमा होमिन नेता कार्यकर्तालाई अपिल गरे ।
कार्यक्रममा राप्रपा केन्द्रिय सदस्यहरु ध्रुव थापा, उद्धवराज भेटुवाल, केबी राउत, क्षेत्रीय अध्यक्ष टंक प्रसाद अधिकारी, टोखा नगरका अध्यक्ष योगेन्द्र पाण्डे, तारकेश्वर नगर कमिटीका अध्यक्ष बसन्त बस्नेत लगायत स्थानीय तहका पदाधिकारी, नेताकार्यकर्ता सहभागी भएका थिए ।
राप्रपाले आन्दोलनपूर्व सरकारलाई मागपत्र बुझाउने तयारी गरेको छ । फागुन ९ गते सबै जिल्लामार्फत सरकारलाई मागपत्र बुझाएर आन्दोलनमा जाने तयारीमा रहेको राप्रपाले अध्यक्ष राजेन्द्र लिंग्देनको नेतृत्वमा सबै पदाधिकारी सदस्य रहेको आन्दोलन मूल आयोजक समिति बनाएको छ । समितिको सदस्य सचिव पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही रहेका छन् ।



