काठमाडौं : आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’ प्राविधिक भवन, हेटौडा, मकवानपुरलाई मतदान स्थल तोकिएको छ ।
यस्तै गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ ।
मतदान माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।



