काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाईका लागि पहल गरिदिन आग्रह गरेका हुन् । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाईका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रसंसा पनि गरेका छन् ।
यसअघि बिहीवार मन्त्री साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । भेटका क्रममा उनीहरुबीच रोजगारी,व्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।



