काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी स्थगित भएको छ । चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि कानुन व्यवसायीको तर्फबाट मुद्दा स्थगित गरिएको हो ।
आइतबार लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।जिल्ला अदालत काठमाडौँले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए ।अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् । गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन भनिएको थियो ।



