काठमाडौं: परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता एनपी साउदलाई गुट फेरेको आरोप लागेको छ । हालै गोदावरीमा सम्पन्न पार्टीको महासमिति बैठकपछि साउदलाई उक्त आरोप लागेको हो ।
पत्नी जोत्सना अधिकारीका कारण एनपीले गुट फेर्नेदेखि महासमिति बैठक छल्नेसम्मको क्रियाकलाप गरेको चर्चा छ । एकताका आफूलाई काँग्रेस सभापती शेरबहादुर देउवाको विश्वासपात्र बताउने एनपीले अस्तिको महासमिति बैठकमा पनि देउवालाई साथ नदिएको बताइन्छ ।
गोदावरीमा महासमिति बैठक बसेर सभापति देउवालाई महामन्त्रीसहितका नेताहरुले घेराबन्दी गरिरहेका बेला एनपी भने श्रीमती, छोराछोरीसहित सासु र सालीसमेतको टोली लिएर भारत लागेका थिए ।
भारतको दिल्ली हुँदै एनपीको टोली अयोध्यासम्म पुगेको थियो। अयोध्यामा एनपी टोलीले सामूहिक दर्शन तथा आराधना गरेर सडकमार्गमार्फत फिर्ता भएको पाइएको छ ।
महासमिति बैठक उद्घाटनकै दिन दिल्ली लागेका एनपीसहित अर्का नेता पूर्णबहादुर खड्काले पनि देउवाको साथ नदिएको चर्चा छ ।
यस्तै बैठकपछि बुढानिलकण्ठमा एनपी र उनकी पत्नीसहितका गतिविधिबारे गम्भीर समिक्षा भएको काँग्रेसका एक नेताले जानकारी दिए ।
उनका अनुसार एनपी पत्नीका कारण कोइराला समूहतिर लागेको बुढानिलकण्ठमा चर्चा गरिएको थियो। जसकारण देउवा र उनकी पत्नी आरजु राणा देउवा फायर भएको बुझिएको छ ।
एनपी पत्नी बेलाबखत विवादमा आइरहने गर्छिन् । उनले पछिल्लोसमय भारतबाहेकका दूतावासमा अनावश्यक हस्तक्षेप गर्ने गरेको फेहरिस्त महेन्द्रनगरपोष्टलाई प्राप्त भएका छन् । मन्त्रालयमा पनि कर्मचारीभित्र एवं अन्य गतिविधिमा मन्त्रीपत्नीले हस्तक्षेप गर्ने गरेको बताइन्छ ।



