काठमार्डौ, २६ भदौ । धर्म निरपेक्षता खारेज गरेर सनातन हिन्दुराष्ट्रको माग गरिरहेको हिन्दुवादी पार्टी राप्रपाले बुधवार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।
पूर्वी नेपालको धरानमा केही आदिवासी जनजाती अभियन्ता दावी गर्ने व्यक्तिले खुलेयाम गोरी काट्ने र मासु खाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले चौतर्फी हिन्दु धर्मावलम्वीहरु आक्रोशित बनेका छन् । गौहत्या गर्नेलाई कानुनी कठघरामा ल्याउन र धार्मिक सहिष्णुता विरोधी कार्य निरुत्साहित गर्न सरकार उदासिन भएको आरोप लगाइरहेको राप्रपाले गौहत्याविरुद्ध राजधानीबाट संघर्ष सुरु गर्न लागेको हो ।
२७ गतेको विरोध सभालाई लिएर राप्रपाले उपत्यका र उपत्यका आसपासका जिल्लामा रहेका नेता कार्यकर्तालाई काठमाडौंमा जम्मा हुन र प्रदर्शन सहितको विरोध सभामा सक्रियताका साथ सहभागी हुन आह्वान गरेको छ ।
विरोध सभाको कमाण्डरमा ज्ञानेन्द्र शाही
राप्रपाका युवा नेता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही गौहत्या विरुद्ध राप्रपाले गर्ने विरोध कार्यक्रमको कमाण्डर बनेका छन् । गौहत्याका विरुद्ध संघर्ष गर्न आयोजना गर्न लागेको उपत्यकाव्यापी विरोध सभा मूल आयोजक समितिको सदस्यसचिव शाहीलाई बनाइएको छ । यसको अध्यक्षमा राप्रपाका बागमती प्रदेश अध्यक्ष विक्रमबहादुर थापा रहेका छन् । समितिको सदस्यसचिव भएसँगै सचेतक शाहीले उपत्यका आसपासका कमिटि र नेताहरुसँग छलफल तीव्र पारेका छन् ।

उपत्यका आसपासका विभिन्न तहगत कमिटि, भातृसंगठन र विभागहरुलाई संगठित रुपमा आआफ्नो तह छुट्टिने ब्यानर सहित प्रदर्शनमा सहभागी हुन अपिल गरिएको छ ।
दशैं तिहारपछि समग्र मुद्दा स्थापित गर्न सडक संघर्ष गर्ने योजना बनाएको राप्रपाले तत्काल गौहत्याका विरुद्ध सभा गर्न लागेको हो । धरानमा घटेको घटनाले यतिबेला हिन्दु धर्मावलम्बीहरु रुष्ट भइरहेका बेला हिन्दु राष्ट्र माग गरिरहेको संसदको पाँचौ ठूलो दलले गर्न लागेको प्रदर्शन र सभालाई महत्वका साथ हेरिएको छ ।



