काठमाडौँ : धर्म परिवर्तनका लागि प्रोस्ताहन दिन खोज्नेगरी एक चर्चमा गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पाइएको छ । काठमाडौंको बसुन्धरास्थित अनन्त आशा मण्डली (चर्च) मा अस्तिदेखि सो शिविर सञ्चालन भएको पाइएको हो ।
त्यसरी चर्चमै अनुमति नलिएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको जानकारी पाएपछि नेपाल मेडिकल काउन्सिलले अनुगमन गरेको छ । अनुगमनका क्रममा अनुमति नलिएको भेटिएपछि काउन्सिलको टोलीले हिजो बिहिवारदेखि शिविर बन्द गराएको छ ।
बुधवारदेखि सञ्चालनमा आएको शिविरमा दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका भनिएका विदेशीहरुले चिकित्सकको भूमिकामा सेवा दिएका थिए । तर, शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले फेला पारेको थियो । उनीहरुलाई आफू चिकित्सक भएको प्रमाण ल्याउन भनिएको छ ।
यदि उनीहरुको कागजात एवम् विवरण नजुटेको खण्डम सो अनुरुप कारवाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ ।
शिविरमा अनुगमन टोली जाँदा सेवा लिने भनेर गएका सर्वसाधारणहरुको भिड थियो । उनीहरुलाई धर्म परिवर्ततका लागि शिविरमा वातावरण मिलाइएको एकजनाले बताए ।



