काठमाडौं : हिजो पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई बडादसैंको अवसरमा टीका लगाइदिएका थिए। मंगलबार दिउँसो ४ बजेदेखि निर्मल निवासमा सयौं शुभेच्छुकहरूको भीड लागेको थियो। पूर्वराजा शाहबाट टीका ग्रहण गर्न नेताहरूसमेत निर्मल निवास पुगेका थिए।
पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमलको हातबाट टीका ग्रहण गर्न सर्वसाधारण घण्टौंसम्म लामबद्ध थिए। उनीहरूले राजतन्त्र पक्षका चर्का नाराबाजी पनि गरेका थिए। उसो त राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी निवास शितल निवासमा पनि टीकाको कार्यक्रम आयोजना गरिएको थियो। तर, निर्मल निवासमा लामबद्ध सर्वसाधारणको संख्या शितल निवासको भन्दा उल्लेख्य थियो।

टीकापछि पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन्। दसैंको शुभकामना दिँदै उनले नेपाली राजनीतिप्रति व्यंग्य गर्दै छिनछिनमा भूइँचालो आइराखेको भन्दै विचार गर्न आग्रह गरे। ‘सबै दिदी बहिनी तथा दाजुभाइलाई दसैंको शुभकामना व्यक्ति गर्न चाहन्छु। अहिले धेरै भन्न नहुने रहेछ। हामीले पास्टबाट सिक्नुपर्ने छ। छिनछिनमा भुइँचालो पनि आइराखेको छ। विचार गरौं’ उनले भने।



