जाजरकोट : जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ ।
दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुम पश्चिममा दुई वटा पूर्ण र २२ आंशिक गरी २४ वटा र सल्ल्यानमा तीन वटा पूर्ण क्षतिसहित कूल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको छ । स्वास्थ्य संस्थामा भएको क्षतिको आकलन भइरहेकाले यो सङ्ख्या बढ्ने जनाइएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या भएको छ । भवनमा क्षति भएकामा अस्थायी रूपमा त्रिपाल राखेर स्वास्थ्य सेवा प्रवाह गरिएको निर्देशक खड्काले बताए ।
दुई सय आठ विद्यालयमा क्षति
भूकम्पबाट दुई सय आठ विद्यालयमा पूर्ण क्षति भएको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका जनाइएको छ । जाजरकोटमा एक सय ७३ र रुकुम पश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी पाँच सय ८१ र रुकुम पश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन् ।
मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा दुई सय आठ पूर्ण र चार सय १८ आंशिक तथा रुकुम पश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति भएको बताए । भूकम्पबाट जाजरकोटमा २२ हजार सात सय ५९ र रुकुम पश्चिममा १७ हजार तीन सय ५१ गरी कूल ४० हजार एक सय १० विद्यार्थी प्रभावित भएका उक्त मन्त्रालयले जनाएको छ।
मनोविमर्शकर्ता परिचालन
भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका गरी ३३ मनोविमर्शकर्ता परिचालन गरेको छ । जाजरकोटमा २१ र रुकुम पश्चिममा १३ मनोविमर्शकर्ता परिचालन गरिएको हो । -रासस


