काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले तीन मन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समय सकिनासाथ प्रमुख प्रतिपक्ष एमालेसहितका अन्य विपक्षी दलहरू उठेर विरोध जनाएका हुन् ।
त्यसक्रममा एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले बोल्दै सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठेको बताए । त्यसक्रममा उनले तीन मन्त्रीको राजीनामा माग गरे ।
बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै उनले राजीनामा मागे ।
यस्तै टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै सांसद भट्टाईले उनको पनि राजीनामा माग गरे ।
यसैगरी उनले संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेको छ । लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै भट्टराईले उनको राजीनामा माग गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
विभिन्न माग राख्दै सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले बस्न र कार्यसूचीअनुसार बैठक अघि बढाउन आग्रह गरेपनि उनीहरू मानेनन् । यसपछि बैठक स्थगित भएको हो ।



