काठमाडौं: अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गते गर्न लागेको वृहत्त आन्दोलनबारे सरकार सतर्क बनेको छ ।
युवा संघले पार्टीका इञ्चार्ज महेश बस्नेतलाई त्यसको मुखियाका रुपमा उतार्ने निधो गरिसकेको छ भने प्रसाई आफैं अभियानका तर्फबाट मैदानमा हुनेछन्।
त्यस्तो स्थिति आए मुठभेड हुन सक्ने अनुमान र विश्लेषण विभिन्न पक्षबाट भइरहेको छ। किनभने, बीचका समयमा प्रसाई र बस्नेतबीच सामाजिक सञ्जालका विभिन्न फोरम र मिडियामा एकअर्काबीच विष वमन भइरहेका छन् ।
प्रसाईँको अभियान र युवा संघले एकै दिन कार्यक्रम राखेको कार्यक्रममा मुठभेड हुन सक्ने यसैले पनि आँकलन गरिएको हो । यस विषयलाई गृह मन्त्रालयले चासोका रुपमा हेरेको बताइएको छ ।
आइतबार उपत्यकाका सम्बन्धीत अधिकारीहरुको उपस्थितिमा गृह मन्त्रालयमा सुरक्षा व्यवस्थाबारे छलफल भएको छ ।
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा भएको छलफलमा काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु क्रमश जितेन्द्र बस्नेत,रोशनीकुमारी श्रेष्ठ र रुद्रप्रसाद पण्डित तीनवटै जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागकाका प्रमुख सहभागी भएका थिए ।



