कैलाली : भीमदत्त राजमार्गको भासु भीर नजिकै सडक खन्ने क्रममा विद्युतीय धराप विष्फोट भएर चार जना घाइते भएका छन ।
चुरे गाउँपालिका-३ को भासुभीरदेखि झण्डै २ किलोमिटर सहजपुरतिर बाटो खन्ने क्रममा बुधबार साँझ विद्युतीय धराप बिष्फोट हुँदा जेसिबी चालक डडेल्धुराको आलिताल गाउँपालिका- ८ का २४ वर्षीय विकास थापा, कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
जेसीवी चालक थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ भने रोलर अप्रेटर २२ वर्षीय हिरा थापाको टाउको र अनुहारमा चोट लागेको छ ।
भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भासुभीर नजिकै भएको विष्फोट द्वन्दकालीन समयमा राखिएको विद्युतीय धराप (एम्बुस) हुनसक्ने प्रहरीले जनाएको छ । सडक चौडा पार्नेक्रममा भीमदत्त पन्त राजमार्गमा अहिले मोड कटिङको कार्य चलिरहेको छ । जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट भएको घाइतेहरुले बताएका छन् ।
द्वन्द्वकालमा उक्त क्षेत्रमा तत्कालिन विद्रोही र नेपाली सेनाबीच लडाई भएको थियो ।



