काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा व्यवस्था परिवर्तन गर्नुपर्ने बेला आइसकेको बताएका छन् । हिजो प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाको दोस्रो अधिवेशनमा बोल्दै उनले देशमा आर्थिक संकट निम्तिएको उल्लेख गर्दै अब पुरानो व्यवस्थाले परिवर्तन ल्याउन नसक्ने दाबी गरे ।
उनले ३ करोड जनसंख्या भएको देशमा ३६ हजार जनप्रतिनिधि भएको अवस्थाले देश ऋणमा डुबेको दाबी गरे । ‘देश ओरालो बाटोमा गइरहदा यहि व्यक्ति र यहि व्यवस्थाले सुधार गर्ने सम्भावना देखिदैन । तर, राप्रपाले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राख्दै आएको छ ।’ उनले भने, ‘अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । राष्ट्रपतिको ठाउँमा अभिभावकको भूमिका निर्वाह गर्न राजालाई ल्याउनु पर्यो र प्रदेश संरचना खारेज गर्नुपर्छ । स्थानीय तहमा पनि यति धेरौ जनप्रतिनिधि चाहिदैन । कटौति हुनुपर्छ ।’

उनले देश अहिले युवाविहिन बनेर वृद्राअश्रम बन्ने अवस्थामा पुगेको बताए । अहिले रेमिटान्सले नै देश चलिरहेको उल्लेख गर्दै लिङ्देनले विदेश आएका युवाहरुले २ महिना पैसा पठाउन छोडे देशमा आर्थिक संकट निम्तिने अवस्था आउने बताए ।



