कपिलवस्तु : पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको जंगी शालिकको अनावरण गरेका छन् ।
पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका उनले शिवराजन नगरपालिका २५ लाख रुपैयाँको लागतमा निर्माण गरेको शालिक रातो ब्यानर उघारेर अनावरण गरेका हुन् ।
सो क्रममा पूर्व राजा शाहले त्यहीँ झन्डोत्तोलनसमेत गरेका थिए । भैरहवामा रहेका शाह आफ्ना नाति हृदयेन्द्रलाईसमेत सँगसँगै ल्याएका थिए ।
पूर्वराजा शाहले नागरिक अभिनन्दनसमेत ग्रहण गरेका थिए । कार्यक्रममा राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरिएको थियो ।
राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण भएको हो ।



