काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो टिप्पणी गरेका हुन् । उनले प्रहरी समायोजन गर्ने कार्यबाट शान्तिसुरक्षाको अवस्था झन खलवलिने दाबी गरे ।
उनले लेखेका छन्, ‘संघियता खारेज हुनुपर्छ,प्रदेशस्तरीय संरचनाको आवश्यकता छैन भन्ने आवाज सशक्तरुपमा उठिरहेको अवस्थामा प्रदेशतहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक छ । यस कार्यबाट शान्तिसुरक्षाको अवस्था झन खलवलिने छ । प्रहरीको मनोवल गिर्नेछ, अराजकता बढनेछ । यो काम तत्काल रोकिनुपर्छ।’
बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका थिए ।प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरूसँग प्रहरी समायोजनबारे छलफल गरेका थिए ।



