काठमाडौं : सत्तारुढ दल कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीले ललितपुरको बालकुमारी दुईजना युवाको मृत्यु भएको बताएका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले मन्त्रीले उक्त घटनाका बेला चरम लापरबाही गरेको बताए ।‘त्यो जबरजस्ती गर्ने काम भएको छ मन्त्रीबाट’ उनले भने, ‘मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना ज्यान गयो ।’ उनले लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए।शुक्रबार भएको घटनामा दुई सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो ।
साथै थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । माइतीघर मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने ठाउँ भएको बताए ।
‘आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । माइतीघरमा निषेधाज्ञाकाे औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ’ उनले भने ।
सोमबार धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत पक्राउ परेका थिए ।



