काठमाडौं : नेकपा (एमाले)का नेता महेश बस्नेतको अभिव्यक्ति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), भक्तपुरले आपत्ति जनाएको छ।
हिजो भक्तपुरमा आयोजित भेलामा नेता बस्नेतले राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष पूर्व जिविस सभापति तथा स्व. सुरेन्द्र प्रताप शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सह–महामन्त्री रविन्द्र प्रताप शाहका विषयमा अनर्गल मन्तव्य दिनुका साथै अराजक अभिव्यक्ति दिएकाले राप्रपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै जिल्ला कार्यसमितिले राप्रपाका स्व. नेता सुरेन्द्र प्रताप शाह र उनका सुपुत्र एवं राप्रपा केन्द्रिय सह–महामन्त्रीको संलग्नतामा भक्तपुर जिल्ला चा.न.पा.–६ नगरकोटको ११३ रोपनी जग्गा बेचविखन गरि अपचलन गरेको आरोप लगाउनु निराधार एवं कपोकल्पीत हो भनेको छ। ‘भ्रामक वक्तव्य दिदै हिंडेका प्रति ठोस आधार, प्रमाण पेश गर्न र पुष्टि गर्नका लागि भक्तपुर राप्रपा एमाले भक्तपुरका नेता महेश बस्नेतलाई चुनौती दिन चाहन्छ’ विज्ञप्तिमा भनिएको छ।
साथै कोपकल्पीत अभिव्यक्ती दिने व्यक्तिप्रति नेपाल सरकारले आवश्यक कार्वाही अगाडी बढाउन सचिवालय प्रमुख अर्जुन कार्कीले माग गरेका छन्।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राजनितिक चरित्रलाई भुलेर यस्ता गैर जिम्मेवार र बर्बररुपमा आएका निराधार अभिव्यक्ति प्रति विश्वास नगर्न आम भक्तपुर वासी जनसमुदायलाई राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर हार्दिक अनुरोध गर्दछ । साथै यस्ता कोपकल्पीत अभिव्यक्ती दिने र एमाले बाहेकका दलका नेता कार्यकर्ताहरुको चरित्र हत्या गर्ने उद्देश्यले अभिव्यक्ती दिने व्यक्तिप्रति नेपाल सरकारले आवश्यक कार्वाही अगाडी बढाउनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई समेत हार्दिक अनुरोध गर्दछ । वस्नेतले आफ्ना अभिव्यक्तीमा सुधार नगरि भविष्यमा पनि यि र यस्ता खाले वक्तव्यलाई निरन्तरता दिएमा भक्तपुर राप्रपा चुप नवस्ने समेत जानकारी गराउँदछौं।’




