मुगु: मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या गरिएको छ। मुन्दु गाउँमा एकै घरपरिवारका चार जनाको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेबी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको हत्या भएको हो। ८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले शुक्रबार बिहान ९ बजे तिर ढोका खोल्दा चारै जनाको बिभत्स रुपले हत्या भएको अवस्थामा गाउँलेहरुले देखेका थिए।
हत्या भएको खबर पाउन बित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको कमान्डमा प्रहरी घटना स्थलमा पुगेको छ। प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार घटना दुइ दिन अगाडी भएको अनुमान गरिएको छ। प्रहरीले अनुसन्धान अगाडि बढाएकाे जनाएकाे छ ।
हत्या गरिएकी महिलाले लगाएको गहना समेत निकालिएकोले धनमाल समेत चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ। मृतक महिलाका श्रीमान् बैदेशिक राेजगारीमा रहेकाे प्रहरीले जनाएको छ ।



