धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नयाँ तथा पुराना दलहरुबाट राष्ट्रको विकास सम्भव नरहेको बताएका छन्।
बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा आयोजित आम सभा कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले देशको विकासका लागि राजा आवश्यक रहेको बताएका हुन्।
‘राजाले देशमा परिवर्तन गर्न अठोट कसे यहाँ कुनै दल, पार्टी रहन्न सम्पूर्ण जनताहरु राष्ट्रिय झण्डाको मुनि आउँछन्’ उनले भने, ‘यही कुरा रोक्न केही नयाँ साथीहरुलाई मिसिनरीहरुले आज प्रयोग गरेको देखिएको छ।’
उनले स्वर्णिम बाग्ले निर्वाचित भएको प्रति कटाक्ष गर्दै भने –‘स्वार्णिम वाग्लेले एमसिसिको ड्राफ्ट लेखेका हुन्। त्यो बेला उनी नेपाली काँग्रेसको थिए तर, अहिले उनी निर्वाचित भइरहदा नयाँ मानिस आयो भनेर खुशी हुन्छन्।’
उनले देश गाउँमा बसेका कृषकभन्दा पनि पढेलेखेका व्यक्तिहरुले बिगारेको आरोप लगाए। उनले संविधान, धर्मनिरपक्षेता र प्रदेश संरचना खारेज गरिनुपर्ने बताए । ‘प्रदेश खारेज गर्छौ । धर्मनिरपक्षेता हटाउँछौं । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री निर्वाचित गर्छौ’ उनले भने।
उनले अहिले पार्टीले प्रदेशमा उम्मेदवार बनाएको गल्ती स्विकार्दै अब आउने निर्वाचनमा प्रदेशमा उम्मेदवार नबनाउने बताए।



