काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. टोकराज पाण्डेका अनुसार सोमबार बिहान ६ बजेदेखि भन्सारको चेकजाँचमा सशस्त्र प्रहरी खटिन थालेका हुन् ।हाल आगमन कक्षको वाक थ्रु गेट क्षेत्रमा भन्सारलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौतीलगायत विशेष आवश्यकतालाई मध्यनजर गरी सशस्त्र प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस अन्तिम साता यससम्बन्धी निर्णय गरेका थिए । इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली परिचालन हुनेछ भने एक सिफ्टमा पाँच सशस्त्र प्रहरी ड्युटीमा खटिनेछन् ।



