काठमाडौं : फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ। यसअघि भएको खेलमा नेपालले यूएईसँग ४-० गोलको फराकिलो हार बेहोरेको थियो। बहराइनले यमनमाथि २-० गोलको जित हात पारेको थियो।
नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन्। चारै खेलमानेपाल जितविहीन छ। समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन्। अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन्।
नेपाल र यमनबीचको खेल हेरेर फर्किने दर्शकका लागि एन्फाले नि:शुल्क बसको व्यवस्था गर्ने भएको छ। दर्शकलाई फर्कन असहज नहोस् भनेर एन्फाले १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको हो। दर्शकले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनु पर्नेछ।



