काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता, फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खाले प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द गरिएको प्रस्टीकरण दिएका छन्।
आज नेपाल संवत् ११४४ अवसरमा भक्तपुरको ठिमीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष सबैको सहमतिमा टिकटक बन्द गरिएको बताएका हुन्।
‘सत्तारुढ र प्रतिपक्ष दलका नेताबीचको लामो छलफलपछि सामाजिक सद्भाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले टिकटक बन्द गरिएको हो’, उनले भने। टिकटक बन्द गर्दा कतिपयलाई चित्त नबुझे पनि सरकारले निर्णयलाई पूर्ण कार्यान्वयनमा लैजाने उनले दाबी गरे।
तर, उक्त कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले भने प्रधानमन्त्रीले गलत तथा भ्रममूर्ण अभिव्यक्ति दिएको उल्लेख गरेका छन्। सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। मलगायत रास्वपाका कुनै नेतासँग यस विषयमा कुनै औपचारिकरअनौपचारिक छलफल वा सहमति भएको छैन। छँदै छैन। प्रधानमन्त्रीज्यूले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।’
सोमबारको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति कांग्रेस, एमाले र रापप्रा लगायत दलका नेताहरुले भने विरोध गरेका छन्।



