काठमाडाैं : नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि शुरू भएको छ । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रवारदेखि शुरू भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रिमनसुन अवधि शुरू भएपछिको आजको यो पहिलो मौसम बदली हो । मुख्यगरी पश्चिमी वायु र अरेबियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कर्णाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए ।
यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।



