काठमाडौं : एसीसी महिला प्रिमियर कपमा नेपाल मलेशियासँग पराजित भएको छ ।
एशिया कपका लागि जित्नै पर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल मलेशियासँग ४ विकेटले पराजित भएको हो ।यस हारसँगै नेपालको एशिया कपमा खेल्ने सपना तुहिएको छ ।एशिया कप प्रवेशका लागि आजको खेल जित्नै पर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ११५ रन बनाएर ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।त्यसपछि मलेशियाकी इलिसा हन्टरको उत्कृष्ट पारीले मलेशियाले ३ बल बाँकी रहँदै उक्त लक्ष्य पूरा गर्दै एशिया कपका लागि प्रवेश गर्न सफल रह्यो ।मलेसियाको जीतमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको शानदार पाली खेलिन् । उनलाई महिरा इस्माइलले १६ तथा मास एलिसाले १३ रन बनाउँदै साथ दिए । नेपालका लागि कविता जोशी र सीता रानामगरले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् । उनले पनि दुई चौका नै प्रहार गरिन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् । उनले यस क्रममा दुई चौका प्रहार गरेकी थिइन् ।खेलको अन्त्यतिर डली भट्टले विस्फोटक पाली खेलिन् । उनले रनआउट हुन अघि १४ बलमा २५ रन बनाइन् । उनले दुई छक्का र एक चौका हिर्काइन् । मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् भने विनिफ्रेड दुराइसिंगमले १ विकेट लिइन् ।



