संविधान सभाका अध्यक्ष रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङको अचानक मृत्यु भएपछि उच्च राजनीतिक तहमा एकाएक सन्नाटा छाएको छ । सक्रिय राजनीतिमा रहेका नेम्वाङ विपक्षी राजनीतिक दल र नेताहरुसँग पनि शालिनता र भद्रताका साथ सम्बन्ध राख्न सिपालु मानिन्थे । नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनका एक मुख्य पात्रका रुपमा परिचित सुवास नेम्वाङ किन पनि राजनीतिक रुपमा महत्वपूर्ण व्यक्ति थिए भने उनी २०६२/६३ को परिवर्तनपछि नयाँ संविधान जारी नहुँदासम्म लगातार संविधान सभाको अध्यक्ष बने । पहिलो संविधानसभाले संविधान बनाउन नसकेर विघटन भएपनि नेम्वाङ दोश्रो कार्यकालमा पनि अध्यक्ष भए र संविधान जारी गराए ।
विद्यार्थीकाल बाटै कम्युनिष्ट पार्टीको राजनीति सुरु गरेका सुवासचन्द्र नेम्वाङको राजनीतिक जीवन शानदार छ । सत्ता राजनीति र संसदीय राजनीतिमा नेम्वाङ भाग्यमानी नेताका रुपमा चिनिन्छन् ।
स्नातक तह अध्ययनका क्रममा विसं २०२९ सालमा अनेरास्ववीयूबाट कम्युनिष्ट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववीयू सभापति भएका थिए । २०३३ सालमा राजद्रोहको मुद्दामा जेल पर्दा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षसम्म भए ।
विसं २०४८ पछि राष्ट्रियसभा सदस्य, २०५६, ६४, ७०, ७४ र ७९ साल मा इलाम–२ बाट लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता पनि हुन् ।
नेम्वाङ सांसद बन्नुअघिसम्म नेपाल ल क्याम्पसका अध्यापक रहे । कानुन व्यवसायीका रुपमा नेपाल बार एशोशियसनको सचिव पनि बनेका नेम्वाङलाई न्यायक्षेत्रमा राजनीति छिराएको आरोप पनि लाग्ने गरेको छ । त्यसपछि उनलाई सदनमा छलफल नै नगराई धर्म निरपेक्षता घोषणा गरेको भनेर आलोचना पनि हुने गरेको छ । यद्यपी उनको शालीन र भद्र व्यक्तिगत आचरणका कारणले तमाम कमजोरीका बाबजुदपनि उनका मृत्युमा धेरै स्तब्ध भएका छन् ।
मंगलबार बिहान १ बजे अचानक हृदयघात भएपछि अस्पताल पुर्याइएका नेम्वाङ नबौरिएपछि उनलाई मृत घोषणा गरिएको हो । नेम्वाङका दुवैजना छोरा विदेश रहेकाले उनीहरु आएसँगै अन्तिम दाहसंस्कार गर्ने र बुधवारसम्म उनको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका राखिने भएको छ । सामान्य रुघाखोकी कारण घरमै आराम गरिरहेका नेम्वाङको हठात महाप्रस्थानले धेरैलाई दुःखीत बनाएको छ ।
सुवास नेम्वाङ एमालेभित्र नेतृत्वलाई निशर्त सहयोग गर्ने नेताका रुपमा पनि परिचित छन् । अघिल्लो कार्यकालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसको बचाउमा नेम्वाङ खडा भए । एमाले अध्यक्ष ओलीको विश्वासपात्रका रुपमा नेम्वाङले उनका हरेक राजनीतिक कदमको समर्थन गरे । नेम्वाङको मृत्युले एमालेलाई राजनीतिक रुपमा ठूलो क्षति भएको छ ।
वर्तमान संविधान निर्माण गर्ने संविधान सभाको अध्यक्ष रहेका नेम्वाङलाई हार्दिक श्रद्धाञ्जली !



