काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौवंश हत्याको विरोधमा राजधानीमा विशाल प्रदर्शन र सभा गरेको छ ।
गाहत्याको विरोधका साथै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनस्थापनाको माग गर्दै सडकमा ओर्लिएको राप्रपाले हजारौंको उपस्थितिमा राजधानीमा शक्ति प्रदर्शन गरेको हो । उपत्यकाकेन्द्रित बृहत विरोधसभा नाम दिएको कार्यक्रम भृकुटिमण्डपबाट सुरु भई रत्नपार्कमा गएर सभामा परिणत भएको थियो ।
कार्यक्रममा राप्रपाका उपत्यकाभित्रका विभिन्न तहगत कमिटि र संगठनहरुबाट नेता तथा सदस्य सहभागी भएका थिए । भृकुटीमण्डपमा जम्मा भएका राप्रपाका कार्यकर्ता र शुभेच्छुकको ठूलो जुलुस शहिदगेट, सुन्धारा, महांकाल हुँदै रत्नपार्क पुग्यो । विरोध प्रदर्शनमा सहभागी नेता सदस्यहरुले गौवंश हत्या गर्नेलाई कार्वाहीको माग गर्दै हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राखे । संघीयता खारेजी र देशभित्रै युवालाई रोजगारी माग्दै राप्रपा समर्थकहरुले प्रदर्शन गरे ।
सभामा परिणत भएको प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन लगायत नेताहरुले सम्बोधन गरेका छन् । पार्टीका पूर्व अध्यक्ष पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी पार्टीका उपाध्यक्ष बुद्धिमान तामांग, विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही र प्रवक्ता ज्ञानेन्द्र शाहीले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा नेताहरुले काँग्रेस कम्युनिष्टको गठबन्धनबाट पछिल्लो ३० वर्षमा देश टाट पल्टिएको, धर्मसंस्कृति, सार्वभौमिकता र अखण्डता क्षयिकरण भएको भन्दै यो व्यवस्था बदलेर राजासहितको प्रजातन्त्रमा जानुपर्ने धारणा राखे ।













