काठमाडौं: सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छन्। त्यो बस्ती २०७२ सालको भूकम्पले तहसनहस बनाएको थियो। त्यसपछि त्यहाँ ५३ घर बनाइएका हुन्। तर, अहिले ती घरहरु र घरबासीहरु भने सकसमा परेका छन्।
ऋण लिँदा बैंकसँग गरेको सम्झौता अनुसार स्वेताश्री फाउन्डेसनले किस्ता नतिरेपछि सकस भएको हो। धनगढी घर भएकी अभिनेत्री श्वेता खड्काले समाजसेवाको नाममा त्यहाँ माझीहरूको घर बनाइदिएको दाबी गरेकी थिइन्। उनले बैंकबाट ऋण लिएर घर बनाएको दाबी गरेकी थिइन्। तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ थप ऋण लिइएको थियो।
पुनर्निर्माण प्राधिकरणले दिएको जनही तीन लाख र बैंकको समेत गरी प्रतिघर लागत सात लाख रुपैयाँ पुगेको थियो। बैंकको ऋण समेतले बस्ती निर्माण सम्पन्न भएको थियो। बैंकबाट ऋण लिँदा जग्गा धितो भने माझी बस्ती राखिएको बताइन्छ। तर, माझीहरूले भने आफ्नै जग्गा धितो र सरकारले दिने राहत रकमले घर बनाइएको बताएका छन्। उता, अभिनेत्री खड्काले बस्ती आफूले बनाएको दाबी गरेपनि समाजसेवाको प्रचार गरेर पैसा भने नदिएको माझीहरूको आरोप छ।
अहिले बैंको ऋण नर्तिदा सिन्धुपाल्चोकको सिङ्गो माझी बस्ती लिलामीको जोखिममा पुगेको छ। लामो समयसम्म सावा तथा ब्याज नपाएपछि बैंकले २०८० असोज ४ गते लिलामी प्रक्रियाको सूचना निकालेको थियो। बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए। फाउन्डेसनले ऋणको किस्ता नतिरेपछि लक्ष्मी सनराइज बैंकले लिलामी सूचना निकालेको हो।
घर निर्माणका लागि बैंकसँग लिएको करिब अढाइ करोड रुपैयाँको सावा तथा ब्याज लामो समयसम्म तिरिएको छैन। रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौता अनुसार ऋण प्रवाह भएको थियो। बैंकले जारी गरेको असोज ४ गतेको उक्त लिलामी प्रक्रियाको सूचना उच्च अदालत पाटनले कात्तिक २४ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।



