काठमाडौं: प्रहरीले शंखरापुर नगरपालिका–१ घर भएका ३३ वर्षीय लालु विकलाई पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पाँच महिनापछि पक्राउ गरेको छ।
लालुले २८ वर्षीया पत्नी गोपी विकलाई हत्या गरेर गत २३ जेठमा नाङ्लेभारेस्थित प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएकोसमेत खुलेको छ। विकले पुनः १० असारमा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिएका थिए। तर, पत्नी खोज्न निवेदन दिने लालु पाँच महिनापछि तिनै पत्नीको हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए।
लालुले १९ जेठ बिहान ६ बजे सामान्य घरायसी विवादमा पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको उनको भनाइ छ।



