काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सबै राजसंस्थावादीहरुलाई सहकार्य गरेर अगाडी बढ्न आह्वान गरेका छन्। उनले एकअर्काको आलोचना गरेर होइन, सँगै मिलेर गए मात्रै राजसंस्था स्थापित हुनेमा जोड दिएका छन्।
दोस्रो जनआन्दोलनको सिलसिलामा २०६२ सालमा १२ बुँदे सम्झौता गरेका तत्कालीन ७ दल र नेकपा माओवादी मिलेर अहिले आफूहरुसँग लड्न एकढिक्का हुँदा राजसंस्थावादी एकआपसमा लडिरहेको मिश्रले बताएका छन्। ‘सम्पूर्ण राजसंस्था पुर्नस्थापना गरौं भन्नेहरुलाई आग्रह के छ भने सके सहकार्य गरौं नसके एउटाले अर्कोलाई गाली नगरौं अनि मात्रै हाम्रो आदर्श स्थापित हुन्छ। अन्यथा भाई फुटे गवार लुटे भनेजस्तै १२ बुँदेहरु हावी हुन्छन्’ उनले भने।
उनले १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्नेलाई ढाल्न राजसंस्थावादी एक हुनैपर्ने जिकिर गरे। उनले भने, ‘हामीले सहकार्य गर्यौं भने जनता अहिले हाम्रो एजेन्डाको पक्षमा छन्। तर, विभिन्न टुटफुट तथा विभाजनका कारण हामी हाम्रो लक्ष्यमा पुग्न नसकेको अवस्था छ। १२ बुँदेलाई ढाल्नैपर्छ। त्यसका लागि राजसंस्थावादी एक भएर सहकार्य गर्नैपर्छ।’



