काठमाडौं : नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्दैछन्। युवा संघले तीनकुनेमा र प्रसाईँको समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन्।
दुवै पक्ष उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारीमा छन्। सोही प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेको छ।
प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्था मात्र सवारीसाधन प्रयोग गर्न अनुरोध गरेको हो। सडकमा निकिस्नुपूर्व १०० वा १०३ मा फोन गरेर जानकारी लिन प्रहरीले आग्रह गरेको छ।
यसैबीच दुर्गा प्रसाईंको बिहीबार हुने कार्यक्रमको रुट सार्वजनिक गरिएको छ। जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी काटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ। त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ।




