काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) निटकको राष्ट्रिय युवा मोर्चाका केन्द्रिय अध्यक्ष कैलाश कटवालसहित दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई खाना खाँदै गरेको अवस्थामा पक्राउ गरिएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।
यस्तै राप्रपा कागेश्वरी मनहरा नगरपालिकाका अध्यक्ष मणी सिंखडा, ८३ वर्षीय खड्गप्रसाद शिवकोटी लगायतलाई धरपकड गरिएको राप्रपा सहायक महामन्त्री दीपक राईले जनाएको छन्। उनले गिरफ्तार गरेकालाई तुरून्त रिहाईको माग समेत गरेका छन्। प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरिरहँदा राप्रपाका नेता कार्यकर्तालाई पनि समातिरहेको बताइएको छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक विपरीत काठमाडौंमा सरकारले धरपकड गरेको बताएका हुन्।
‘शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरू अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरूद्धका काम हुन्,’ उनले लेखेका छन्।



