काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सहभागीता जनाउने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्णय भएको हो ।
निर्वाचनका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय पनि गरेको छ। यस्तै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको पनि श्रेष्ठले जानकारी दिए ।
राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ।
बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । उक्त प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ।
केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाण्डौंमा बस्ने बताइएको छ ।




