काठमाडौँ : भारतले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो ।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनालयको सूचनामा उल्लेख छ ।पछिल्लो समय नेपाली बजारमा समेत प्याजको हाहाकार छ । आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् ।आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तीन दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि तीन दिनदेखि नै आलु-प्याजको मूल्यसूची अपडेट गरेको छैन ।



