काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि सुनुवाइ हुनेछ । बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दामा आज पनि बहस हुनेछ । आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजालसमा उक्त मुद्दाको सुनुवाइ जारी छ ।
आइतबार र बुधबार जाहेरवाला र सरकारी वकिलले बहस गरेका थिए । बुधबार मुरारी सापकोटाले बहस थालेका थिए । उनले २० मिनेट बहस गरेपछि सुनुवाइ स्थगित गरिएको थियो ।
बिहीबार सापकोटा र ‘लिड लयर’ सरोजकृष्ण घिमिरेसहितका ६ अधिवक्ताले बहस गरे । वरिष्ठ अधिवक्ता शम्भु थापा र नेपाल बारकै पूर्वमहासचिव समेत रहेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले पनि सन्दीपका तर्फबाट बहस गरेका छन् । सन्दीपका तर्फबाट नौ वकिलले बहसका निम्ति नाम लेखाएकामा बिहीबार ६ जनाको बहस सकिएको छ ।
सरकारी वकिलबाट दुई र जाहेरवालाबाट आठजनाले बहस गरिसकेका छन् । सन्दीप पक्षको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।



