चितवन: जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्षित गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।
परियोजना संयोजक सुमन पौडेलका अनुसार सबै बिद्यालयसँगको समन्वयमा परियोजनाले काम गर्दै आएको छ । उक्त परियोजनाले बुधबार आयोजना गरेको सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रममा ती पालिकामा सातवटा स्रोत केन्द्र र तीनवटा विशेष विद्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ । परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ ।परियोजनाले गाउँघरका ‘अटिजम’ भएर विद्यालय जान नसक्ने विद्यार्थीलाई विद्यालयसम्म ल्याउने काम गर्नाका साथै एक सय ४३ बालबालिकालाई सहायक सामग्री वितरण गरेको छ । चौतीस जटिल प्रकृतिका अपाङ्गता भएका बालबालिकालाई दैनिक क्रियाकलापमा सहज हुने सामग्री प्रदान गरिएको छ । सन् २०२२ देखि यस्तो काम गर्दै आएको सो परियोजनाले यो समयमा जिल्लाका एक हजार सात सय पाँच अभिभावकसँग सम्पर्क गरेको अवसरमा जानकारी दिइयो ।समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम एक हजार एक सय १८ जनालाई प्रदान गरिएको र १७ अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार गरिएको उनले जानकारी दिए । घरमा आधारित शिक्षा पाइरहेकामध्ये ३१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको राष्ट्रिय बहिरा महासङ्घ नेपालकी परियोजना संयोजक शर्मिला तामाङले जानकारी दिइन् ।अहिले पनि समाजमा ‘अटिजम’ भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेको छैन । जसका कारणले उनीहरूको परिवारसमेत समस्यामा परेको उनले बताइन् ।



