काठमाडौं : ३ जना उपसचिवको नेतृत्वमा अर्थ मन्त्रालयले बजेट प्रणालीमा सुधार गर्नु ४ वटा समिति गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखाका ३ जना उपसचिवको नेतृत्वमा मन्त्रालयले बजेट प्रणालीमा सुधारका निम्ति गर्न पर्ने काममा विषयमा सुझाव दिन समितिहरु गठन गरेको हो । अर्थ मन्त्री डा. प्रकाशशरण महचले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै बजेट प्रणालीमा सुधार गरिने घोषणा गरेका थिए ।
उक्त घोषणा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले विभिन्न समितिहरु गठन गरेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताए । मन्त्रालयगत बजेट सूचना प्रणाली र बहुवर्षीय ठेक्का तथा स्रोत सुनिश्चितताको दायित्व एकिन गर्ने महाशाखाका उपसचिव पूर्ण न्यौपानेको संयोजकत्वमा समिति गठन भएको छ । यस्तै, मन्त्रालयले रकमान्तर तथा अर्थ विविधबाट हुने निकासामा व्यवस्थित बनाउने विषयमा अध्ययन गर्न केन्द्रीय बजेटका प्रमुख जगदीश उपाध्ययको नेतृत्वमा समिति गठन गरेको छ । यस्तै, लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टम (एलएमबिआएस) मा भएका क्रियाकलायमा सुधार गर्न समेत मन्त्रालयले उपाध्यायकै नेतृत्वमा समिति गठन गरेको छ ।
यस्तै, मन्त्रालयका उपसचिव टिकाराम भुसालको नेतृत्वमा गठन भएको समितिलाई एलएमबिआइएस र पिएलएमबिआइए सुधार र सुरक्षा सम्बन्धि विषय अध्ययन गर्दै सरकारका अन्य प्रणालीमा इन्टरलिंक कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्दै सुझाव दिने जिम्मेवारी दिइएको छ । सचिव स्तरिय निर्णयबाट गठन भएका ४ वटै समितिलाई माघ मसान्तसम्म सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।



