काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा फरार अपराधी रहेको खुलेको छ । उनी लागुऔषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको हो ।
२०६४ जेठ २० गते उच्च अदालत पाटनले उनलाई लागुऔषध खैरो हेरोइन कारोबारको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवनना हुने फैसला सुनाएको थियो । अदालतको यो फैसलापछि उनी फरार भएको १६ वर्ष भइसकेको छ ।
उच्च अदालतले ५ वर्ष कैद र पाँच हजार जरिवनाको फैसला गरे पनि दावाले चार वर्ष एक महिना २८ दिन कैद र जरिबाना भुक्तान गर्न बाँकी छ । उनी २०६१ साउन ८ गते लागूऔषधसहित पक्राउ परेपछि २०६२ जेठ १० गतेसम्म (मुद्दा पुर्पक्षका क्रममा) १० महिना २ दिन कैद बसेका थिए ।




