खोटाङ : उपचारमा लापरवाही गर्दै बिरामीको ज्यान लिने नक्कली डाक्टर ११ वर्षपछि पक्राउ परेका छन् ।
२०६९ फागुन १७ गते हलेसी पोलिक्लिनिक दिक्तेलमा उपचारका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको थियो ।यसपछि मृतकको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।मेहताले पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएदिएपछि राईको मृत्यु भएको भन्दै मृतककी आफन्त देवीसरा राईले २०६९ चैत १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । मेहतालाई गत माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।छानबिनका क्रममा उपचारमा संलग्न डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेश गरेर पोलिक्लिनिकमा काम गर्दै आएको खुलेको थियो । त्यसबेला आयुर्वेदमा एचए उत्तीर्ण मेहताले चीनबाट एमबीबीएस गरेको नक्कली प्रमाणपत्र पेश गरेर उपचार गरिरहेको खुलासा भएको थियो ।प्रहरीले सोही पोलिक्लिनिकमा आवद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का महेशप्रसाद साह र बोदेबरसाईन नगरपालिका–२ का अशोककुमार साहलाई पनि अनुसन्धानका लागि माघ २८ गते पक्राउ गरेको छ ।पक्राउ परेका तीनै जना विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।



