काठमाडौं : मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कीर्तिमानी जित हात पारेको छ ।
नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३ रनमा आउट भएपछि नेपालले २१४ रनको विशाल जित हात पारेको हो ।२२८ रनको लक्ष्य पछयाएको माल्दिभ्स नेपाली ब्याट्सवुमनविरुद्ध धरासायी बनेपछि १३ रनमा अलआउट भएको थियो ।
नेपालका लागि अश्मिना कर्माचार्यले ४ विकेट लिएकी थिइन् भने पूजा महतोले ३ विकेट, त्यस्तै रुविना क्षेत्रीले ३ विकेट लिएकी थिइन् ।
त्यसअघि नेपालले पहिले ब्याटिङ गर्दै रुविना क्षेत्रीको कीर्तिमानी शतकका साथ २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो ।त्यस्तै नेपालका लागि पूजा महतोले ५९ रन बनाएकी थिइन् भने कविता कुँवर १३, सिता रानामगर १५, डोली भट्टले ६ रन बनाउँदा कप्तान इन्दु वर्मा शून्यमा आउट भएकी थिइन् ।रुविना नेपालबाट अन्तराष्ट्रिय खेलमा शतक हान्ने पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन् ।
नेपालले यसअघि खेलेका खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटले नै विजयी भएको थियो।



