काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताएका छन् । आइतबार बालकुमारी घटनाबारे प्रतिनिधि सभामा उठेको प्रश्न सम्बन्धमा जवाफ दिँदै जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले अध्ययन गर्ने बताएका हुन् ।
‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो। छानबिन समितिले प्रतिवेदन दिएको छ । तर मैले हेर्न पाएको छैन । आजै मैले प्रतिवेदन बुझ्दै छु र क्याबिनेट पनि आजै छ’, प्रचण्डले संसदमा भने, ‘अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’
शुक्रबार बालकुमारी घटना जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्री श्रेष्ठले आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा पेश गर्ने र त्यहाँ उक्त प्रतिवेदन आफूले बुझ्ने बताए ।
उनले मृतकका परिवारलाई १० लाख दिनेमात्रै नभई सरकारले गम्भीरता देखाउँदै छानबिन आयोग बनाएको पनि बताए ।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।



