काठमाडाैं : आज राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिंदै छ भने नयाँ सांसद सोमबार शपथ लिंदै छन् ।
आज बिदा हुन लागेका सांसदमा नेकपा (एमाले) बाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित नौ जना छन्। राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिएको छ ।
पदावधि सकिनेमा एमालेका सांसदमा दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई हुन् ।
त्यस्तै, नेपाली कांग्रेसका चार जना सांसद रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थको पदावधि सकिएको छ ।
नेकपा (माओवादी केन्द्र)का विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिएको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)का नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी (जसपा)का प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि आज सकिंदै छ ।
उनीहरूमध्ये १९ जना गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएर आइसकेका छन् । उनीहरूको फागुन २१ गते शपथ ग्रहण तय भएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रपतिबाट एक जना मनोनीत हुन बाँकी छ ।



