काठमाडौं: नेपाली कांग्रेसका सांसद विनोद चौधरीले एक कार्यक्रमा स्टेजमै गएर गीत गाएको भिडियो सार्वजनिक भएको छ। नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएर सिंहदरबार पुगेका अर्बपति सांसद चौधरीको रुची गायनमा समेत रहेको उक्त भिडियोले प्रष्टाएको छ।
उनले ‘एकै नजरमा माया बस्या है’ बोलको गीत गाउदा कार्यक्रमा सहभागी विभिन्न सेलिब्रेटी रमाएका थिए। उक्त सार्वजनिक भएको भिडियोमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिपकराज गीरी लगायत देखिएका छन्।
उसो त उक्त मौलिक गीत नै विनोद चौधरीको स्वरमा सजिएको छ। पहिलोपल्ट गाइएको उक्त गीतमा चौधरीको स्वर, शम्भुजित बास्कोटाको संगीत र राजेन्द्र रिजालका शब्द रहेका थिए। उनले उक्त गीतको जिकिर आफ्नो आत्मकथाको पेज नम्बर ७८ मा गरेका छन्।
एसएलसीमा बोर्ड पाँचौ भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेराबाट बढेर डिस्को खोलेका थिए। उनले एल्बमसमेत निकाले। फिल्म बनाए। वाइवाइ उत्पादन थाले । उनको चौधरी ग्रुप अहिले बैँक, बिमा, फाइनाँस र हाउजिङदेखि सफ्ट डिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ।
फोर्ब्सले उनलाई उल्लेख गर्दै उनको परिवारलाई सन् २०१३ मा विश्वकै अर्बपतिहरुको सूचीमा समावेश गरेको थियो। त्यतिबेलादेखि नै उनले फोर्ब्समा उल्लेखित नेपालका पहिलो र अहिलेसम्म पनि एक्ला अर्बपतिको पहिचानलाई कायम राख्दै आएका छन्।



